प्रणय दिबसमा मेरो मनको राजालाई प्रेम पत्र  !

प्रणय दिबसमा मेरो मनको राजालाई प्रेम पत्र !

February 14, 2019 0 By khabarservice

प्यारो मान्छे

 

मेरो महामहिम, तिमी सर्वश्रेष्ठ हौ ।  मेरो तीर्थ हौ तिमी र हरपल प्रेम चढाउँदैछु म तिम्रो पयरमा । म तिम्रै लागि यो धर्तीमा जन्म लिए, तिम्रै लागि जीवन अर्पण गर्छु ।

तिमी प्रेमको दूत । मेरो मृगतृष्णा ।म सम्झिँदैछु त्यो प्रेममय क्षण एकदिन तिम्रो हातबाट रगत बगिरहेको थियो । मुटु आकारको त्यो घाउभित्र तिमीले हामी दुईजनाको नाम लेखेको थियौ । म हाम्रो अगाध प्रेम सम्झिएरस्तब्ध भएथे । तिमीले आलो रगत मेरो सिउँदोमा पोतिदियौ र मेरो हात समाउँदै भन्यौ ‘प्रिये, तिमी मेरो घाउ देख्न सक्छ्यौ र ?’ मेरो सर्वाङ्गमा भावुकताको सवारी भयो र तिम्रो हात समाउँदै बोलें ‘प्रिय, म तिम्रा हर अङ्गहरुलाई महसुस गर्न सक्छु ।’ म तिम्रो घाउको उपचारमा तत्परताका साथ लागें । घाउको अनुसन्धान गर्दै जाँदा तिम्रो मुटुमा प्रेमको आलो घाउ भेटें । आँशु र प्रेमको नीलोतुथो अनि करुणा मिसाएर तिम्रो रुमानी चोटको मल्हमपट्टी गरिदिएँ ।

लामो समयसम्म हामीले मौनधारण गर्‍यौं र नजरहरुलाई बोल्ने मौका प्रदान गर्‍यौं । तिमी कलिला पालुवा पलाउँदा रमाएको बसन्तझै सुन्दर र खुसी देखिँदै मेरो कानमा फुसफुसाउँदै बोल्यौ– ‘तिमीले उपचार गर्दा निको हुने आत्मविश्वास पलायो ।’

म बिर्सिन सक्दिनँ तिम्रा ती स्वर्गको आभास दिलाउने अमूल्य, अदभुत, अस्पृश्य भलकहहरु । ती भव्यताले भरिपूर्ण झलकको सहारामा मैले स्वर्गको कल्पना गरें । तिम्रो तस्वीरलाई अन्तस्करणको क्यानभासमा टाँगें । दिलको बाकसमा लुकाएँ र तिमीलाई कसैले नचोरुन् भनेर समर्पणको चाबी लगाएँ ।हाम्रो प्रेम दिन प्रतिदिन गहिरियो ।

यो प्रेमयात्रामा तिमीले बहार बिछ्याइदियौ । स्वर्ग र सपनाको किरण छरिदियौ । अनि माया नै मायाको पुष्पवृष्टि गरिदियौ । मेरो आत्माको नदी तिर्खाएको छ, अनि तिम्रो नदीसँग मिसिएर समुन्द्रमा अनुवादित हुन चाहान्छ । ए भद्र मान्छे, समुन्द्रको नुनिलो पानीझै हुँदोरहेछ माया । जति पियो, त्यति प्यास जाग्ने । कहिल्यै तृप्ति नहुने । मायाप्रीति लगाउनका लागि एक पलजस्तो मात्र लाग्छ यो जीवन । किनकि यो असीम छ र अविराम छ ।

जहाँ जाउँ, तिमी नै तिमी, हेराईमा तिमी, खोजाइमा तिमी, यो जिन्दगीको श्रुतिमधुर गजल तिमी, हाँसो, आँसु, आश्चर्य अनि गुनासो सबैमा तिमी नै तिमी । संसारभरीकै आदरणिय, अद्धितिय र प्रिय छौ तिमी मेरो लागि ।  तिमी सबैभन्दा अग्रस्थानमा छौ ।

प्रेमको कहिल्यै ननिभ्ने आगलागीमा परेर म अविराम जलिरहेछु । अनि उम्किनै नसकिने पहेलीको बीचमा जेलिएकी छु । तिमीले जीवनमा दिएको कोशेली यो प्रीतिका बारेमा जति लेखे पनि म अनभिज्ञ हुँदैछु । तिमीले मेरो रानीमासुमै स्पर्श गरेझै लाग्छ र अन्तस्करणसम्म झट्का पुग्छ । वास्तविक प्रेममा आनन्द र बेदना दुवै सँगसँगै आउने रहेछन् । कहिले हर्षले पुलकित हुन्छु म अनि कहिले मुर्झाउँछु ।

हामी एक अर्काविना पूरा हुन सक्दैनौं । तिमी मेरो आधा अङ्ग हौ र म तिम्रो आधा अङ्ग हुँ । हामी दुवैको सङ्गमपूर्ण रुप हो । तिम्रो र मेरो नशासँग नशा, मुटुसँग मुटु जोडिएको जस्तो लाग्छ । तिम्रो राम्रो खबर सुन्दा मन फुरुङ्ग हुन्छ र नराम्रो सुन्दा बैलाउँछ । मलाई सुनसानीमा पनि तिम्रो आवाज सुनेजस्तो लाग्छ । त्यसैले ध्यानपूर्वक सुन्छु म मौनतालाई । बेहोशीमै तिमीलाई सम्झिएर बर्बराउँछु ।

यस्तो लाग्छ, म धनुषको ताँदोमा चढेर काणझै छुटन लागेकी छु तिम्रो निशानासम्म । त्यो निशाना तिम्रो आत्मा हो, म सुरक्षित रहने पवित्र ठाउँ । ठेगानाविनाको चिठ्ठीजस्तो थिएँ म । तिमी मेरो पत्रबाहक बन्यौ । संवेदनाको संवाहक बन्यौ । तिम्रो सम्झनाले तरङ्गित छु म । तिम्रै आकर्षणमा झङकृत छु म् ।

हाम्रो प्रेमको फूलबारी रङ्गीचङ्गी बनोस् । यो कोपिलाइरहेको अनुराग फक्रियोस् र सर्वत्र अनुराग छरोस् । आउ, हामी मिलेर अझ नयाँ नयाँ रङ्ग र प्रकारका फूलहरुको जन्मदाता बनौं। पानी हालौं । बार बारौं । गोडमेल गरौं । यो जगतलाई अर्कैरुपमा परिवर्तन गरौं । हामीले सँगै देखेका सपनालाई साकार बनाएर विपनामा रुपान्तरण गरौं । ए आत्मीय साथी, माली बन्नका लागि तिमी राजी हुन्छौ भन्नेमा म विश्वस्त छु । विस्तारै बुझदैछु, म प्रेमको मेरुदण्ड नै विश्वास रहेछ ।

ए मेरो मधुशाला, मदिराभन्दा पनि कडा हुँदोरहेछ मायाको मात । मदिरा त पिउन छोडेपछि मात उत्रँदोरहेछ । तर, प्रेमले एकपटक मातेपछि बारम्बार बल्झिँदोरहेछ ।  हामी मायाको मदिरा पिएर हाम्रो जिबनलाई रङ्गीन बनाउनेछौं ।