नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल

January 21, 2019 0 By khabarservice

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्बभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म पाँच अर्ब ६७ करोड १८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य रहेकोमा ६ अर्ब २० करोड ५८ लाख रुपैयाँ संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले जानकारी दिनुभयो ।

यथार्थपरक वर्गीकरण र विशेष निगरानी गर्न थालेपछि राजश्व असुली बढेकाे प्रमुख भन्सार अधिकृत निरौलाले दावी गर्नुभयो ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिना बाहेकका पाँच महिनामा राजश्व संकलन लक्ष्यभन्दा बढी संकलन भएको छ ।

भन्सारको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल भन्सार तथा राजश्व गुल्मका डिएसपी निरंकरनाथ शुक्लाले भन्सार चोरी निकासी नियन्त्रणका लागि भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरिएको बताउनुभयाे ।